पिलुवामा वृक्षरोपण कार्यक्रम सम्पन्न, ३५० भन्दा बढी बिरुवा रोपियो

admin
1 Min Read

विश्व वातावरण दिवसको अवसरमा “प्रत्येक व्यक्तिले एक बिरुवा रोपेर हुर्काऔं” भन्ने सन्देशसहित वीरगञ्जबाट सुरु गरिएको सरसफाइ, संरक्षण तथा वृक्षरोपण अभियान आइतबार पिलुवामा सम्पन्न भएको छ।

ब्रह्माकुमारीज युवा प्रभाग वीरगञ्जको आयोजनामा सञ्चालित उक्त अभियान जेठ २२ गते वीरगञ्जबाट सुरु भएको थियो। विभिन्न स्थानमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको अभियानको समापन ओम शान्ति पिस पार्क, पिलुवामा वृक्षरोपण गरी गरिएको हो।

समापन कार्यक्रममा करिब ३५० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्। रोपिएका बिरुवामध्ये बेल, अर्जुन, निम, कागती, हलुवाबेद, कटहर तथा विभिन्न फूलका बिरुवाहरू रहेका छन्।

कार्यक्रममा पूर्वमन्त्री ज्वाला कुमारी साह, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष हरिदेव खरेल, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जकी प्रमुख रविना दिदी, राधेश्याम शिवाकोटी, अनिल मैनाली, व्यवसायी धुन्डीराज उप्रेती, सञ्चारकर्मी गणेशराज रिजाल, पुष्प खतिवडा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा पूर्वमन्त्री ज्वाला कुमारी साह प्रमुख अतिथि रहनुभएको थियो भने अध्यक्षता ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जकी प्रमुख रविना दिदीले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी गोमा अधिकारीले गर्नुभएको थियो।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *